
बाटोमा एक्सासी चितुवासँग जम्काभेट भयो भने कस्तो होला ? झटपट कोही कसै कुस्ती खेल्न सक्दैनन् ? यस्तो कुरा सोँच्दा धेरैको आङ सिरिङ्ग हुन्छ ।
तर, आइतबार विहान लमजुङ बेंसीसहरका एक बृद्धले भने बहादुरीकासाथ चितुवासँग कुस्ती खेलेका छन् ।
बेंसीसहर नगरपालिका–९ साम्दीका ६७ बर्षिया हरिबहादुर थापा घाँस काट्न घरबाट के निस्किएका थिए चितुवासँग जम्काभेट भयो । आहारा खोज्दै घरतर्फ आइरहेको चितुवाको निशाना थापामाथी प¥र्यो । पहिलो भेटमै चितुवाले थापालाई खेतको गह्रामा हुत्ताइदियो ।
चितुवाले चिर्थोदा उनको हातमा घाउ लाग्यो । धानबारीमा लडेका थापाले भने हरेस खाएनन् । बरु चितुवाको दोस्रो प्रहार रोक्दै खुर्पाले हान्न भ्याए । त्यसपछि चितुवापनि घाइते भयो ।
‘बुवा र चितुवाबिच धानखेतमा घम्साघम्सी भयो’, हरिबहादुरका छोरा रामप्रसादले भने, ‘बुबाले एक हातले छेक्दै अर्को हातमा भएको खुर्पाले हान्नुभयो ।’
खुर्पा प्रहारले चितुवाको टाउको, नाकको डाँडी, खुट्टामा चोट लाग्यो । केहीबेरमा चितुवा म¥र्यो । हरिबहादुरको पनि हातखुट्टामा चोट लाग्यो । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
मरेको चितुवा डिभिजन बन कार्यालयलाई जिम्मा लगाइएको छ । चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले जानकारी दिए ।
राहत सहयोग सम्बन्धी निर्देशिका २०६९ अनुसार जंगली बन्यजन्तुहरु हात्ती, बाघ, भालु, चितुवा, हिउँ चितुवा, अर्नाले पु¥याउने मानविय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान छ ।
बन्यन्तुको आक्रमणबाट मानिस तथा पशुको मृत्यु वा घाइते भएमा, अन्नबालीको नोक्सानी भएमा वा भण्डारण गरेको अन्नपातको नोक्सानी भएमा सम्बन्धित कार्यदलको सिफारिसको आधारमा राहत उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।
बन्यजन्तुबाट मानिसको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपियाँ, घाइते भएमा २ लाख रुपियाँ र त्यति रकम पनि अपुग भएमासंघ सरकारले थप रकम दिने प्रावधान छ ।
पशुधनको क्षति भएमा स्थानीय बजारमूल्य अनुसार राहत उपलब्ध गराउने ब्यबस्था छ ।