
संविधान दिवसको अबसरमा सरकारले देशभरबाट विभिन्न पेशा ब्यवसायका ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गरेको छ ।
राष्ट्रपतिबाट प्रदान हुने ती अलंकारिक सम्मानको सूचीभित्र लमजुङमा जन्मिएका र लमजुङ जिल्लालाई कार्यथलो बनाएका ७ जना ब्यक्तिपनि समेटिएका छन् ।
लमजुङ घर भएका उच्च पदस्थ व्यक्तित्व, लमजुङमा कार्यरत राष्ट्रसेवक कर्मचारी, लोकगायिका र पुराना बामपन्थी नेता सम्मानित हुने सूचीमा छन् ।
सम्मानित हुनेमा बेसीशहर नगरपालिका २ घरभई नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापा प्रशिद्ध प्रवल जनसेवा श्री द्धितीयबाट सम्मानित हुने भएका छन् । बेंसीसहर नगरपालिका ११, चिती घर भएका डा. गणेशराज जोशी सुकीर्तिमय राष्ट्रदीप (तृतीय) बाट सम्मानित हुने भएका छन् । उनी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख आयुक्त छन् ।
यस्तै, बेंसीसहर नगरपालिका २ घर भएका नेपाली सेनाका महासेनानी लक्ष्मण थापा सु–प्रवल जनसेवा श्री तृतीयबाट सम्मानित हुनु सूचिमा परेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडार निवासी राजदल गणका प्रमूख सेनानी उत्तम सापकोटा प्रवल जनसेवा श्री द्वारा सम्मानित हुने भएका छन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र लोकगायिका माया गुरुङ राष्ट्रपतिबाट प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित हुने भएका छन् । संविधान दिवसकै अवसरमा लमजुङमा कम्युनिष्ट आन्दोलनका धरोहर, नेकपाका केन्द्रीय सल्लाहकार दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोट निवासी ऋषिराम पौडेल जनसेवा श्री पञ्चमबाट सम्मानितको सूचिमा परेका छन् ।
सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्दैछ ।
विभूषण, अलंकार र पदक आगामी बैंशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।