हिमालमा फल्ने स्याउ बेंसीमै फल्यो

लमजुङ । हिमाली चिसो हावापानीमा फल्ने स्याउ पहाडका बेंसी क्षेत्रमा समेत फलेको छ ।

क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानी र सुन्दरबजार नगरपालिका–१ कुन्छामा लगाइएको स्याउ फल्न थालेका छन् । बाग्लुङपानीको जनज्योति माध्यामिक विद्यालय परिसरमा लगाइएका स्याउमा दाना लागेको वडाअध्यक्ष पेमा गुरुङले बताए ।

समुन्द्री सतहबाट १ हजार ५ सय मिटर उचाइमा रहेको सो क्षेत्रमा सुरुमा डोर्सेट गोल्ड र चिनाईको स्टोबेरी जातका ६७ विरुवा रोपिएको थियो । सबै विरुवा राम्रोसंग हुर्किएको र फल लागेको विद्यालयका प्रधानाध्यापक विलप्रसाद गुरुङले बताए ।

एभ्रिथिङ अर्गानिक नर्सरी धुलिखेलका प्राविधिकले स्याउ लगाउन उपयुक्त भएको बताएपछि विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयले स्याउ लगाउने तरिका, कटिङ गर्ने तरिकाको बारेमा तालिम लिएका थिए । पहिलोपटक रोपेको स्याउ राम्रो फल लागेकाले आगामी दिनमा विद्यालय वरपर स्याउ विस्तार गरिने प्रधानाध्यापक गुरुङले बताए ।

सुन्दरबजार नगरपालिका–१, कुन्छाको हिर्कुस एग्रो फार्म प्रालिका सञ्चालक गोवद्र्धन गौलीले पनि आफ्नो बारीमा स्याउ फलाएका छन् । कागती, सुन्तला, अदुवा, कफी खेती गर्दै आएका गौलीले परीक्षणका रूपमा स्याउको बिरुवा रोपेका थिए । चितवनबाट स्याउको बिरुवा ल्याएर रोपेको र अहिले फल राम्रो लागेको उनले बताए ।

विशेषगरी चिसो हावापानी र सामान्यतया दुई हजार मिटर उचाई माथीको जमिनमा स्याउ खेती राम्रो हुने प्राविधिकहरु बताउँछन् । यसअघि बेंसीसहर नगरपालिका–१० साँधुको चित्रेलेक र मस्र्याङ्दी गाउँपालिका–५ चिप्लाको लेकमा स्याउ खेती गरिएको थियो । हाल ती स्थानमा अहिले व्यवसायिक स्याउ खेती छैन् ।

वि.सं १९७५ सालमा कृषि वर्षको अबसरमा चिप्लामा स्याउ खेती शुरु गरिएको थियो । यसैगरी साँधुको चित्रेलेकमा पनि चितवनबाट आएका एक किसानले स्याउ फलाएका थिए । ती स्थानमा लोचिलिङ अन्नाभेरिड जातका स्याउ खेती गरिएको किसानहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र लमजुङका कृषि प्रसार अधिकृत रोहिणीराज लौडारीका अनुसार लमजुङका उच्च क्षेत्रहरुमा स्याउ फल्ने भएपनि ब्यवसाय बढाउन हालसम्म कुनै कार्यक्रम भने गरिएको छैन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: