स्थायी ठेगाना लेख्दा लमजुङपनि संक्रमित सूचीमा, जिल्लामा भने छैनन् संक्रमित (सूचीसहित)

लमजुङ । कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका वा अन्य ठाउँमा बसोबास गरिरहेको पाइएको छ ।

जिल्लागत हिसाबले संख्या थपिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ । विभिन्न जिल्लाका भनिएका व्यक्ति उपत्यकामा बसोबास गर्ने गरेको पाइएको छ । अहिलेसम्म सबै प्रदेशमा कोरोना भाइरसको संक्रमण छ ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म ४ सय २ लाई भएको छ भने सिन्धुपाल्चोक र बाँकेका एक एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरना संक्रमणबाट ३८ जिल्ला प्रभावित भएको सूची निकालेको छ । सो सूचीमा लमजुङ पनि देखिन्छ । तर, लमजुङ स्थायी ठेगाना भएका व्यक्ति अन्यन्त्रै संक्रमित हुँदा सिंगो जिल्ला मुछिएको छ ।

जिल्ला प्रशासन कार्यालयले संक्रमित ब्यक्ति काठमाण्डौं–१६ बनस्थली बस्ने ३ बर्षिया बालक रहेको जनाएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले संक्रमित ब्यक्तिको जिल्लाबाट नमुना संकलन नगरिएको बताए । ‘उनको काठमाडौंभित्रै नमुना संकलन गरिएको हो, लमजुङ घर भएपनि काठमाण्डौंमै बस्छन्’, प्रजिअ खड्काले भने ।

उनका अनुसार, पीसीआर विधिबाट कोरोना परीक्षण गर्न जिल्लाबाट ६१ नमुना संकलन गरिएको थियो । ती नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पोखरा पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *