
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जना विस्फोटक पदार्थसहित पक्राउ परेका छन् ।
प्रहरीले दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका लमजुङ जिल्ला इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी, दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङ रहेका छन् ।
पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल नगरपालिका–४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का जिल्ला सदस्य ३४ वर्षीय रविन्द्र नखोला, दोर्दी–७ का २२ वर्षीय दुर्गालाल तामाङ (कार्यकर्ता) र मध्यनेपाल–१० का २६ वर्षीय सुजन थापा (कार्यकर्ता) रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार आइतबार राती १ बजेको समयमा उनीहरु भेला भइ अवाञ्छनिय गतिविधि गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । उनीहरुलाई खानतलासी गर्ने क्रममा विस्फोटक पदार्थ गन्धक ५ सय ग्राम, बारुद ५ सय ग्राम, सोडा ५ केजी सेप्टिफ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद गरिएको छ ।
यस्तै, पार्टीसँग सम्बन्धित पोस्टर ५० थान, नेकपाको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपैयाँ, चन्दा रसिद एउटा, ग १५ प ८१३७ र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल ८ थानसमेत बरामद गरिएको थापाले बताए । उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।