लमजुङ समाज युएइले दियो स्थानीय तहलाई चार लाख सहयोग

लमजुङ समाज युएईले लमजुङका स्थानीय तहमा स्थापना गरिएको कोरोना भाइरस (कोभिड १९) को राहत कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

रोजगारी तथा व्यवसायीक सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका लमजुङेले लमजुङ समाज युएई गठन गरेर विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले लकडाउन गरेपछि समस्यामा परेका नागरिकलाई खाद्यान्नलगायत राहन दिन लमजुङ समाज युएईले नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङमार्फत ४ लाख रुपैयाँ पठाएको हो ।

लमजुङ समाज युएईका अध्यक्ष बाबुराम सापकोटाले लमजुङका ८ वटै स्थानीय तह सवैलाई बराबरी रुपमा ५०÷५० हजार रुपैयाँ कोरोना राहत कोषमा पठाएको बताए । उनले लमजुङ समाज युएईसंग सम्पर्कमा रहेका लमजुङे दाजुभाइ तथा दिदीबहिनीबाट संकलित रकम आफ्नै जन्मभूमिमा लकडाउनका कारण अति समस्यामा परेकालाई सहयोगका लागि पठाएको बताए ।

लमजुङ समाज युएईका संरक्षक अर्जुनबहादुर गौलीले परदेशमा पनि कोरोना भाइरसको जोखिम र लकडाउनको समस्या रहेपनि आफ्नै जन्मभूमिका असाहय, गरीब तथा दैनिक ज्यालादारी मजदुर परिवारलाई सहयोग पुगोस भनी रकम संकलन गरेर पठाएको बताए ।

लमजुङ समाज युएईले पठाएको रकम क्व्होलासोंथर गाउँपालिकाबाट हस्तान्तरण सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले बुधबार क्व्होलासोंथर गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुलगायतले ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान ‘संगीत’ नेपाली र जिल्ला समन्वय समिति सामुदायिक रेडियो प्रसारक संघका लमजुङ संयोजक मीना गुरुङको विशेष उपस्थिति रहेको थियो । लमजुङ समाज युएईबाट प्राप्त रकमलाई लकडाउनबाट रोजीरोटी गुमेका, गरीब तथा असाहयलाई प्राथामिकताका आधारमा आवश्यकता अनुसार दिइने गाउँपालिका अध्यक्ष घलेले बताए ।

लमजुङ समाज युएईले २ बर्षअघि युएईमा भाग्यले बाँचेकाहरु बृत्तचित्र प्रदर्शन गरेर संकलन गरेको १ लाख १ हजार १ सय १ रुपैयाँ बेंसीसहरस्थित मानवसेवा आश्रमलाई सहयोग गरेको थियो । यसअघि लमजुङ समाज युएईले विनासकारी भूकम्पका कारण लमजुङमा ज्यान गुमाएकाका परिवारलाई ४०/४० हजार रुपैयाँका दरले सहयोग गरेको थियो ।

लमजुङ समाज युएईले युएईमा विभिन्न कारण समस्यामा परेका, स्वदेशमा मृगौला, क्यान्सरलगायत रोगबाट ग्रष्त आर्थिक अवस्था निकै कमजोर भएकालाई सहयोग गर्दै आएको छ । यस्तै, विभिन्न परोपकारी संघसंस्था, असाहय नागरिकलाई सहयोग गर्दै आएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: