लमजुङ । भेन्टिलेटर सहितको आइसियु निर्माणको लागि लमजुङ अस्पताललाई संघीय सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेकपाका प्रमुख सचेतक एवं लमजुङका प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङको विशेष पहलमा सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रकम विनियोजित भएको हो ।
लमजुङ अस्पतालमा १० बेडको ४ भेन्टिलेटर सहित आइसियु निर्माणकालागि दुई करोड रुपैयाँ विनियोजित भई जिल्ला पठाइएको देवप्रसाद गुरुङका स्वकिय सचिव कमल खड्काले जानकारी दिए ।
कोभिड–१९ संक्रमण जिल्लामा बढ्दै गएको अवस्थामा लमजुङका जनताप्रतिको चासो र उत्तरदायीत्वको कारण आफुहरुले भेन्टिलेटरको व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयमा विशेष अनुरोध गरको सांसद देवप्रसाद गुरुङले बताए ।
६० शैया रहेको अस्पतालमा हालसम्म आइसियु तथा डायलसिस कक्ष छैन् ।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङसहित अस्पताल विकास समिति र जिल्ला विपद् व्यवस्थापन समितिको यसअघि बसेको बैठकले संघ तथा प्रदेश सरकारलाई आइसियु र डायलसिस कक्ष निर्माणको लागि अनुरोध गरेको थियो ।