
लमजुङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका वडा नं. ५, सन्जापुकी २७ बर्षिया आइतमाया गुरुङलाई मंगलबार हेटिकप्टरबाट उद्धार गरि पोखरा पठाइएको हो ।
सुत्केरी ब्यथा लागेपछि आइतमायालाई मंगलबार विहान घेर्मु स्वास्थ्य चौकीमा ल्याइएको थियो ।
दिनभर प्रयास गरेपनि सुत्केरी गराउन कठिन भएपछि साँझ हेलिकप्टरबाट उद्धार गरि पोखरा पठाइएको हो ।
ग्र्भबति महिलाको पेटमा बच्चा उल्टो अबस्थामा रहेकाले सुत्केरी गराउन कठिन भएको घेर्मु स्वास्थ्य चौकीका इन्चार्ज मोती गुरुङले बताए ।
‘दिनभरी प्रयास गर्दा खुट्टा मात्र निस्कियो’, गुरुङले भने, ‘यस्तो अबस्थामा तत्काल उद्धार गर्न नसके आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्थ्यो ।’
उपचारत सुत्केरी महिलाको ज्यान नै जोखिममा परेपछि थप उपचारको निम्ति गाउँपालिकाको अनुरोधमा गण्डकी प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो ।
‘सुत्केरी महिलाको ज्यान जोखिममा रहेको जानकारी पाउनासाथ मुख्यमन्त्रीसँग समन्वय गर्यौं’, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्काल हेलिकप्टर पठाउनुभयो, सुत्केरीको उद्धार भयो ।’
सुत्केरी महिलाको उद्धारका लागि नेकपाका प्रमुख सचेतक देव गुुुुरूङ , संविधानसभा सदस्य जमिन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।
सुत्केरी महिलाको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।