लमजुङको पुरानकोटगढीमा शान्तिस्तुपासहितको भ्यूटार पार्क निर्माण सुरु

लमजुङको पुरानोकोटगढीमा शान्तिस्तुपासहितको भ्यूटावर पार्क निर्माण थालिएको छ । यो ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक स्थल हो ।

बेंसीसहर नगरपालिका ४ मा रहेको पुरानोकोटगढीमा बेंसीसहर नगरपालिकाले भ्यूटावरको काम सुरु गरेको हो ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार उक्त क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माण थालिएको हो । पुरानोकोटगढी आफैंमा ऐतिहासिक, साँस्कृतिक हिसावले महत्व बोकेको ठाउँ भएकाले यसको प्रवद्र्धनका लागि नगरपालिकाले काम सुरु गरेको हो ।

पुरानोकोटगढीमा शान्तिस्तुपासहित भ्यूटायर पार्क निर्माणका लागि ४ करोड ८१ लाख ८१ हजार १ सय १ रुपियाँको डीपीआर गरिएको छ । भ्यूटावर निर्माणका लागि बेंसीसहर नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । यो आर्थिक वर्ष २०७७÷०७८ मा ३५ लाख विनियोजन गरेको छ । रकम धेरै लाग्ने भएकाले प्रदेश सरकार र संघीय सरकारसंग पहल गरिएको नगरपालिकाले जनाएको छ ।

शान्तिस्तुपासहितको भ्यूटावर पार्कको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्क सम्पन्न गराउन प्रदेशले सहयोग र समन्वय गर्ने बताए । ऐतिहासिक स्थलको विकास गरी प्रचार गर्ने, संरक्षण गर्ने र सौन्दर्यकरण गर्न सके आसपासको क्षेत्रको आर्थिक विकास हुने बताए ।

कोरोना संक्रमणका कारण धेरै प्रभावित भएको कृषि, पर्यटन, उद्योगलाई माथि उठाउन प्रदेशले १ अरब ८५ करोड बजेट छुट्याएको मुख्यमन्त्री गुरुङले बताए ।

नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य मधु अधिकारी, बेंसीुसहर नगरपालिका उपप्रमुख लक्ष्मिदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेल, वडा नं. ४ का अध्यक्ष लालविर गुरुङ, ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङलगायतले पर्यटकीय तथा ऐतिहासिक स्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

पुरानोकोट गढी १ हजार ९ सय ५० मिटर उचाईमा छ । चौबीसे राज्यको एउटा राज्य थियो लमजुङ । इतिहास अनुसार कालु शाह लमजुङका राजा भएका थिए । लमजुङेले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटमा राजा बनाएका थिए । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो । पुरानोकोटमा भग्नाबशेष छन् । कालुको हत्यापछि उनकै कान्छा भाइ यशोब्रह्मलाई कास्कीबाट ल्याएर पुरानोकोट गद्दीमा बसाइयो ।

उनले गाउँशहर र बेंसीसहरमा दरबार बनाए । पुरानोकोट गढी मुन्तिर पुरानोकोट गाउँ छ । पुरानोकोटबाट एक घन्टामा गढी पुगिन्छ जहाँ जलदेवी मन्दिर, राजा रानीको दरबारका भग्नावशेष र सेना परेड खेल्ने मैदान छ । गढीक्षेत्र र गाउँको छेउबाट हिमाल दर्शन गर्न पाइन्छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: