लमजुङको पल्लोटारीमा निरन्तर पहिरो, २१ घर बगायो, चारसय विस्थापित

मस्र्याङ्दी–३ पल्लोटारीका सन्तबहादुर अछामीले १३ वर्ष विदेशमा विताए । साउदी अरबको चर्को गर्मीमा मजदुरी गरेर कमाएको पैसाले चिटिक्कको घर बनाए । कोरना संक्रमणसँगैको लकडाउनले विदेश हैन, स्वदेशमै केही गर्नुपर्छ भनेर यतै दुःखजिलो गर्दैथिए । तर, बुधबार विहान आएको पहिरोले हेर्दाहेर्दै १३ वर्षको कमाइ मात्र हैन, थातथलो समेत बगायो ।

‘पोहोर मात्र १५ लाख खर्चेर घर बनाएको । अहिले नामनिसानै नराखी बगायो’, सन्तबहादुरले भने, ‘अब न सम्पत्ति छ, न घर बनाउने जमिन नै ।’ सन्तबहादुरको मात्र हैन पल्लोटारी गाउँमा पोहोर मात्र ६ वटा नयाँ घर बनाएका थिए, ती सबै पहिरोले बगायो ।

बुधबार विहान पौने १० बजे गाउँ माथिबाट झरेको पहिरोले १९ घर बगायो । पहिरो बुधबार दिनभर पनि चल्यो । बुधबार राती थप २ घर बगायो । बुधबार र विहिबार गरि २१ घर पुर्णरुपले ध्वस्त भएका छन् । विहिबार विहान पनि पहिरो चलिरहेको खुदी प्रहरी चौकीका इन्चार्ज यमप्रसाद शर्माले बताए ।

पहिरोबाट अन्य ५९ घर उच्च जोखिममा छन् । अधिकांश घरहरु पहिरोले आधा पुरिसकेका छन् । सो गाउँमा ८० घर थिए । ८० घरका करिब ४ सय परिवारलाई अन्यन्त्र स्थान्तरण गरेर गासबासको ब्यवस्था मिलाइएको वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

पहिरोले देवबहादुर गोतामे, सतिस गोतामे, रञ्जना गोतामे, काली अधिकारी, बुद्धीमाया अछामी, बाबुराम अछामी, सन्दीप अछामी, सन्तबहादुर अछामीको घर बगाएको छ । यस्तै उत्सव गोतामे, अनिता गोतामे, आइतबादुर गोतामे, मानबहादुर अछामी, हिरा गोतामे, शुसिला गोतामे, दीपेन्द्र मजाकोटी, सुनिता मजाकोटी, राजेश मजाकोटी, फुलमाया मजाकोटी, अतिमान गोतामेको घर पहिरोले बगाएको छ ।

पहिरो झरेपछि भाग्दै गर्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा सृजना गोतामे, सुजन अछामी, कविता बस्याल, देवबहादुर सार्की, जमुना अधिकारी, फुलमाया मजाकोटी, नन्दकुमारी अछामी र मिलन अछामी रहेका छन् । घाइते मध्ये २ जनाको लमजुङ सामुदायिक अस्पताल बेसीसहर र अन्यको खुदी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

मंगलबार सोही स्थानमा पहिरो गएको थियो । मंगलबारको पहिरोले पुरिएका घरका सामान झिक्दै गर्दा बुधबार विहान पुनः झरेको पहिरो छल्न भाग्दा ८ जना घाइते भएका थिए । पहिरो जोखिमको पूर्वानुमान गर्दै छिमेकी गाउँमा स्थान्तरण गरिएकाले मानविय क्षति हुन नपाएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए ।

पहिरोको उच्च जोखिममा परेकाहरुको स्थान्तरणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु ख्टिएका थिए । उनीहरुलाई खुला स्थान, विद्यालय, सामुदायिक भवनहरुमा अस्थायी रुपमा स्थान्तरण गरी खानेबस्ने ब्यवस्था गरिएको गाउँपलिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार पहिरोबाट विस्थापित भएकाहरुको घरबाट खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री स्थान्तरणको कामपनि भैरहेको छ । पहिरोमा परेर धेरै पशुचौपाय मरेका छन् । बाँचेका पशुचौपायहरुको पनि स्थान्तरण गरिएको अमर माध्यामिक विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतले बताए ।

पहिरो पीडितहरुलाई स्थान्तरणपछिको खानपिन र बसोबासका लागि जिल्ला विपद् ब्यवस्थापन समिति, रेडक्रस, आरसिडिसीलगायतले राहत सामग्री प्रदान गरेका छन् ।

सोही स्थानमा ०७५ सालमा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो । त्यसभन्दा अघि पनि ३२ २ पटकसम्म पहिरोले गाउँ पुरेको स्थानीय बताउँछन् ।

‘विगतका वर्षहरुमा पनि पहिरोले दुख दिइरहेकाले अबका दिनमा त्यहाँ पुनः गएर बस्न सकिदैन’, पहिरो पीडित अतिमान गोतामेले भने, ‘हाम्रो स्थायी बसोबासका लागि सरकारसँग माग गर्दर्छौं ।’

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner