लमजुङकी चेली नमूनाको चितवनमा ‘मास्क सेवा’

सन्तोष पौडेल/लमजुङ

स्वासप्रश्वासमा भाईरसको सुरक्षाका हिसाबले हामी आफैले बनाएको कपडाको मास्क कति उपयोगि कति अनुपयोगि, त्यो त स्वास्थ्य विज्ञहरुले परीक्षण गर्नुपर्ला ।

साना भाईरसहरु रोक्न नसके पनि धुलो र धुवाँबाट बच्न, कोभिड–१९ संक्रमण र यसको महामारीभन्दा पहिला आम सर्वसाधारणले प्रयोग गर्ने मास्क नै कपडाको मास्क हो ।

लकडाउनपछि यहि कपडाको मास्क निर्माण गरेर केहि विक्रि र कतिपय ठाउँमा निःशुल्क वितरण गर्दै आएकी नमुनालाई भने मास्क निर्माणमा अझै हौसला थपिएको छ । उनी र उनको टेलरिङको पुरै टिम लकडाउनयता ‘मास्क सेवा’ मा अहोरात्र खटिरहेको छ चितवनमा ।

गतबर्षको चैत्र पहिलो हप्ताबाटनै कोभिड–१९ संक्रमणको जोखिम नेपालमा बढेको समाचारहरु आउन थालिसकेका थिए । त्यसका लागि मास्क अनिवार्य लगाउनुपर्ने डक्टरहरुले बताईरहेका थिए ।

जब नेपालमा लकडाउन शुरु भयो, सबै पसल व्यवसायहरु बन्द भए । पसलमा बसेर सामान बेच्नेहरुको रोजीरोटी गुम्यो । सुरक्षाकै लागि मानिसहरु घरभित्रै बस्न थाले । तर, भरतपुर–१० मा नमुना लेडिज टेलर्स सञ्चालन गरेर बसेकी नमुना पौडेल भने घरभित्रै थुनिएर बस्न सकिनन् । लकडाउनसँगै उनको पसल पनि बन्द भयो । पसलसँगै त्यहाँ काम गर्ने ४ जना बहिनीहरुको पनि काम सकियो । उनीहरुको आम्दानीको बाटो गुम्यो । त्यसैलले नमुनाले एउटा जुक्ति निकालिन र आफ्नो जुक्ति फेसबुकमा पोष्ट गरिन् । “नमुना लेडिज टेलर्सबाट उत्पादित कपडाको मास्क आवश्यक हुनेले सम्पर्क गर्नुहोला”

सामाजिक सञ्जाल हेरेर घरभित्रै बसिरहेका एकजना मेडिकल सञ्चालकको आँखा उनको पोष्टमा पुग्यो । तत्कालै उनले ५ सय थान मास्क अर्डर गरिहाले । त्यो पहिलो अर्डर थियो, सम्झदै नमुना भन्छिन् त्यसले मलाई ठूलो हौसला दियो ।

फेसबुकमा पोष्ट गरेको एक घण्टामा गरिएको त्यो अर्डर उनको लागि बरदान सावित भयो । उनले अव मास्क निर्माण गरेर विक्रि गर्न पाउने बाटो पाइन् ।

निलो कपडाको बाहिरी र सेतो भित्री राखेर निर्माण गरेको उनको मास्क २५ रुपैयाँमा विक्रि गर्ने उनको निधो भयो, शुरुमा प्रति मास्क निर्माण गरे बापत सिलाउने बहिनीहरुलाई ५ रुपैयाँ ज्याला दिएर मास्क निर्माण गर्न लगाइन् । कपडा पसलेहरुले पनि महँगै मूल्य लिए, त्यसैले २५ रुपैयाँमा बेच्दा थोरै रुपैयाँ आफूलाई फाईदा राखेर बेच्दा ठिकै हुने उनलाई लाग्यो । मेडिकल सञ्चालकले गरेको त्यो पहिलो अर्डर पछि सानो ठूलो परिणाममा धेरै मास्कको अर्डर हुन थाल्यो । मेडिकल मास्क र एन नाईन्टि फाईभ मास्कको मूल्यमा कालोबजारी भइरहेको समयमा उनको मास्कको डिमान्ड बढ्दै गयो । अव उनले मास्कलाई कसरी सस्तो मूल्यमा दिन सकिन्छ भनेर सोच्न थालिन् ।

फाईदा कम, सेवा धेरै
सुरुवाति दिनमा २५ रुपैयाँमा बेचेको मास्क २० रुपैयाँ, १८, १५ र १३ रुपैयाँ हुदै अहिले १० रुपैयाँमा मास्क विक्रि गरिरहेकी छन् नमुना ।

नाफा भन्दा सेवाको भावनाले आफूले मास्क निर्माण गरेर विक्रि वितरण गरेको उनको यो कार्य यतिखेर व्यापार नभई सेवाको भावनाले अगाडि बढेको स्वयं मास्क खरिद गर्नेहरुनै बताउँछन् । त्यसैले उनको यो सेवालाई ‘मास्क सेवा’ भन्दा फरक नपर्ला ।

मास्क सिलाउने ४ जना बहिनीहरुलाई पनि समझदारी अनुसार ज्याला प्रतिगोटा ३ रुपैयाँमा झारिन् र कपडा र तन्कने इलाष्टिकको खर्च जोड्दा १० रुपैयाँमा मास्क तयार हुने भयो । उनले अव सेवा गर्नुपर्छ भन्ने ठानेर १० रुपैयाँमा मास्क उपलब्ध गराउने निधो गरिन् । पछिल्लो समय एकजना डक्टरको सुझावमा बाहिरी कपडा हत्तपत्त पानीले नभिज्ने कपडा राखेर दुई पत्रको मास्क निर्माण गरिएको छ ।

यसरी निर्माण गर्दा पसलमा काम गर्ने बहिनीहरुको रोजीरोटी पनि चल्दै जाने र सेवाको भावना हुने भएकोले उनलाई यहि ठिक लाग्यो । नमुना भन्छिन्, अहिले १० रुपैयाँमा बेच्दा आफुले फाईदा राखेको छैन ।

त्यसो त नमुनाले मास्क विक्रि मात्र गरिनन् । चितवनका आफूले चिनेजानेका स्थानहरुमा पुगेर निःशुल्क मास्क वितरण पनि गरिन् । असारमा खेतमा काम गर्दै रहेका किसानहरु भएको ठाउँ, बृद्धाश्रम, कारागार अनाथालय, मानव सेवा आश्रम, दिनदुखी र मजदुर लगायत अस्पतालका बेडमा रहेका विरामी, विरामीका आफन्त अनि आफ्ना साथीभाईलाई मास्क निःशुल्क वितरण गर्न थालिन् ।

सेवा नै धर्म हो भन्ने भावनाले उनको मनलाई घच्घच्याई रहन्थ्यो, त्यसैले ६ हजार भन्दा बढी मास्क आफ्नै हातले वितरण गर्न पाउँदा निकै खुसी छन् नमुना ।

विभिन्न क्षेत्रमा आफैं पुगेर निःशुल्क वितरण
अस्पतालको बेडमा रहेका विरामी र कारागारमा पुगेर मास्क वितरण गर्दा आफूलाई त्यहाँका व्यक्तिहरुले दिएको आशिर्वाद सम्झदै उनि भन्छिन्, त्यहाँ पहिला कसैले मास्क वितरण गरेको रहेनछ, त्यसैले मैले पहिलोपटक मास्क वितरण गर्दा विरामी र तिनका आफन्तले दिएको आशिर्वादले अझै हौसला बढायो ।

त्यसो त, उनले असहाय, गरिब, किसान लगायतलाई उनीहरुको कार्यस्थलमै पुगेर मास्क वितरण पनि गरेकी छन्् । मास्क लगाउँदै सामाजिक दूरी कायम गर्न सुझाएकी पनि छन् ।
चितवन र आफू जन्मेर हुर्केको लमजुङ जिल्ला लगायत अन्य स्थानका आफ्ना साथीभाइ र ईष्टमित्रलाई पनि आफूले निःशुल्क केहि थान मास्क उपलब्ध गराउदै आएकी छन् नमुनाले ।

आफुले पढेको विद्यालयलाई मास्क उपलब्ध गराउने योजनाः
पछिल्लो समय आफूले पढेको विद्यालय लमजुङ सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि ५ सय थान मास्क तयार गरेर राखेकी छन् । विद्यालय खुलेपछि आफैं पुगेर वितरण गर्ने योजना रहेको उनले लमजुङ पत्रसँगको कुराकानीमा बताइन् ।

अहिलेसम्म नमुना लेडिज टेलर्सबाट उत्पादित मास्क चितवन, लमजुङ, गोर्खा, तनहूँ लगायत विभिन्न जिल्लाका वडा र पालिकाहरुमा समेत पुगिसकेका छन् । लकडाउन यता ६० हजार थान मास्क उत्पादन गरेको बताउने नमुनालाई कसैले ठूलो परिमाणमा व्यापार गरेको भन्ठान्छन्, तर उनको पहिलो त समाजसेवी भावना र थोरै व्यापार मिसिएको छ । त्यसो त उनले टेलरिङ व्यवसायबाट राम्रै आम्दानी पनि गरेकी छन् ।

भरतपुरमा जग्गा किनेर घर बनाउने तरखरमा रहेको बताउने नमुना यो सबै आफ्नो रात दिनको मिहिनेत र परिश्रमको फल भएको बताउँछिन् । जनप्रतिनिधिहरु लगायत स्वयंसेवीले उनको मास्क खरिद गरेर वितरण गर्दै आइरहेका छन् । लामो समय टिक्ने र धोएर लगाउन मिल्ने र सस्तो समेत भएको कारण कपडाको मास्क वितरण गरीएको सुन्दरबजार नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्णकान्त अधिकारीले बताए । उनले केहि दिन अघि मात्रै वडा कार्यालय र सिर्जनशिल सामुदायिक सिकाई केन्द्रको संयुक्त प्रयासमा आफ्नो वडाका ५ सय २० घरका १ हजार ९ सय ५० भन्दा बढी व्यक्तिलाई नमुनाले उत्पादन गरेका मास्क ल्याएर बाँडेका थिए । यसैगरी कसैले मास्क अर्डर गरेमा अहिले १० रुपैयाँमा मास्क उपलब्ध गराउने उनले बताइन् ।

कहालीलाग्दो विगतः
जति समाजसेवा गर्ने जाँगर देखाएकी छन् नमुनाले त्यति उनको विगत कहालीलाग्दो छ । नमुना पौडेलको माईति घर लमजुङको दुराडाँडा, कोईरालाफाँट नजिकै हो । उनले आफ्नो माईति नभएको भन्ने गर्छिन्, किनकी छोरी भएर जन्मेकै कारण आमा र आफूलाई घरबाट निकालिएपछि पाउँदीस्थित मामा टकराज पोखरेलको शरणमा परे । मामाले बाबु सरह मायाँ र ममता दिएर हुर्काए, शिक्षा दिए । त्यसैले उनले बाबुको मायाँ नपाए पनि मामा दोश्रो बाबु सरह भएर रहेको बताउने गर्छिन् । अहिले उनकी आमा मामाघरमै रहेकी छन् ।

सुन्दरबजार, पाउँदी निवासी टंकराज पोखरेल आफूले भान्जी हुर्काएको र अहिले यस्तो सेवा गरेकोमा असाध्यै खुसी भएका छन् । आफू दिदीको घरमा गएको समयमा भिनाजुले भान्जीलाई समातेर बाहिर फालेको टंकराज पोखरेले देखे । छोरी भएर जन्मेकै कारण बाबु र हजुरआमाबाट सधैं कचकच हुने गर्दथ्यो, उनी भन्छन्, रक्सी खाएर आएका भिनाजुले छोरी जन्मेकोमा झगडा गर्र्दै छोरीलाई गाईभैंसीको मल फाल्ने मलखादमा पुग्ने गरी फालेको देखेका टंकराज पोखरेलले भोलिपल्ट विहान दिदीलाई आफूले पाल्ने निर्णय गरी भान्जी नमुनासँगै घरमा ल्याए ।

त्यतिबेला दिदी दुई जीउकी रहिछन् । मामाघर आएपछि अर्की छोरी जन्मिइन् । यसरी दुई भान्जी र दिदीलाई मामा ममता दिई टंकराज पोखरेलले लालनपालन गरे । नजिकैको आदर्श बाल माविमा भर्ना गरी शिक्षा दिक्षा दिए र विहेबारी गरिदिए । त्यसपछि नमुना चितवनमा पगेर शिक्षण कार्यमा संलग्न भईन् । निजी विद्यालयमा पढाउँदा काम धेरै र तलब थोरै हुने कारण दैनिक जीवन चलाउन मुस्किल भयो । श्रीमान प्रमोद पौडेलको साथ र सहयोग अनुसार उनले नमुना लेडिज टेलर्स सञ्चालन गरिन् । यस अघि उनले २ बर्ष तालिम लिन र काम सिक्नको लागि खर्चिइन् । श्रमिानको सक्रिय मायाँ र साथ अनि मामाको स्नेहका कारण आफू अहिलेको स्थानमा आईपुगेको नमुना बताउँछिन् ।

देवघाटका बा“दरले समेत चिन्छन्ः
मास्क वितरणकै क्रममा देवघाटको आश्रममा पुग्दा उनले बाटोमा बाँदरहरु खान नपाएर कराउँदै बसेको उनले देखिन् । लकडाउनका कारण देवघाटमा आउने तिर्थालुहरुले दिएको खाना खाने गरेका बाँदरले जंगली कन्दमुलबाहेक केहि खान नपाएको ठानेर उनले केहि मकै, चना र विस्कुट किनेर खुवाउने सोच गरिन् । आफूसँगै ६ जनाको टिम बनाएर डेढ महिनासम्म दैनिक खाना लिएर पुग्ने गर्दथ्यौं । उनले भनिन्–शुरुमा त बाँदर झम्टन आउने गर्दथे । पछि विस्तारै बानी पर्दै गयो, उनीहरु खाना लिएर जाँदा बाँदरहरु पालैसँग हात थाप्ने भए । अहिले पनि उनलाई त्यहाँ जाँदा बाँदरहरुले चिन्छन् । खानाको आशा गर्दछन् । त्यता गएको बखत केहि न केहि लिएर जान्छु–उनले भनिन् ।
फोटोहरुः नमुना पौडेलको फेसबुकबाट

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: