लमजुङका पत्रकारलाई मध्यनेपालको ज्याकेट

लमजुङ : लमजुङमा क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ लमजुङ शाखाले प्रेस लेखिएको ज्याकेटसहित स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

मध्यनेपाल नगरपालिकाको सहयोगमा ज्याकेट निर्माण गरि वितरण गरिएको महासंघले जनाएको छ । ३५ जना पत्रकारलाई ज्याकेट दिइएको छ । बाँकी सदस्यहरुलाई विस्तारै वितरण गरिने महासंघले जनाएको छ ।

कोरोना भाइरसको जोखिममा अग्रपंक्तिमा खटेर काम गर्ने पत्रकारहरु समाचार संकलनमा लागिरहेका छन् । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले सुरक्षा ज्याकेट हस्तान्तरण गर्दै आगामी दिनमा पनि सहयोगका लागि तत्पर रहेको बताए । उनले पत्रकारहरुको क्रियाशिलताको प्रशंसा गर्दै, एकता र सहकार्यका साथ सत्यतथ्य समाचार पस्कन सुझाव दिए ।

प्रमुख पाण्डेले हरक्षण नागरिकलाई सूचना प्रवाह गर्नेक्रममा सचेत र सावधानी पूर्वक अघि बढन आग्रह गर्दै पत्रकारलाई कुनै समस्या परेमा आफ्नो नगरपालिकाको ढोका सधै खुल्ला रहने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले कोरना भाइरस संक्रमण जोखिमलाई ख्याल गर्दै आफुँपनि सुरक्षित रहँदै समाचार सम्प्रेक्षणमा जुट्न आग्रह गरे । उनले यो कठिन समयमा समाजमा सही सुचना र सचेतना जगाउन पत्रकारको ठुलो भूमिका रहने बताए ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले सहयोगी निकायहरुप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि पत्रकारहरुको सुरक्षाका लागि सामाग्री जुटाउने कार्यमा शाखा लागिपर्ने बताए ।

सोही अबसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशबाट शाखालाई प्रदान गरिएको मास्क, सेनिटाईजर र पञ्जा समेत वितरण गरिएको थियो । यसअघि जिल्लास्थित संचारकर्मीलाई कोरोना भाइरस जोखिमबाट बच्न मस्र्याङ्दी गाउँपालिकाले सेनिटाईजर दिएका थियो । समस्यामा परेका १६ जना पत्रकारलाई बेसीशहर नगरपालिकाले र ३ जना पत्रकारलाई सुन्दरबजार नगरपालिकाले राहत वितरण गरेको थियो ।

मंगलबार बेसशिहरमा जिल्लास्थित स्थानीय संचार माध्यमका प्रतिनिधिहरुसंग बसेको बैठकले लकडाउनका कारण स्थानीय संचार माध्यमले अफ्ठेरो अबस्था भोगेको भन्दै सहयोग गर्न स्थानीय तहसंग अनुरोध गरेको छ ।

बैठकले स्थानीय संचारमाध्यमको सहयोगका लागि स्थानीय तहसंग समन्वयगरी आवश्यक कार्यक्रम लैजान नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङसहित नवीनराज कुईकेल, किसान संगित, परमेश्वर अधिकारी र मिना गुरुङ रहेको एक कार्यदल बनाएको छ । कार्यदलले आवश्यक प्रस्तावना तयारगरी ८ वटै स्थानीय तहसम्म पुग्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेलले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *