लमजुङ । मध्यनेपाल नगरपालिका वडा नं. १० का वडाअध्यक्ष रामचन्द्र भण्डारीले मध्यपहाडी लोकमार्गका मजदुरमाथि आफुँले कुटपिट नगरेको दावी गरेका छन् ।
नयाँ कुरासँग कुरा गर्दै भण्डारीले मजदुर र स्थानीय केही युवाविच भनाभन भई धकालधकाल हुँदा आफुँले छुट्टाउने काम गरेको बताए ।
विरामी मजदुरलाई एम्बुलेन्स खोजेर लैजान आफुँले प्रयास गरेको, तर एम्बुलेन्स नपाएपछि टिप्परमा लैजाँदा आफुँसंग उनीहरुको भेट भएको भण्डारीले बताए ।
पहिला पनि मजदुरलाई समस्या पर्दा मिलाउने गरेको र यो लकडाउनको बेला काम गर्ने वातावरण आफुँले नै बनाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार वडाअध्यक्षसहितका आरोपित युवा र पीडित मजदुरविच मिलापत्र गरेर फर्किएका छन् ।
अबका दिनमा मजदुरहरु माथि कुटपिट, धम्की जस्ता कार्य नगर्ने विषयमा दुवैपक्षविच सहमति भएको थियो ।
‘उहाँहरु दुवैपक्ष आएर आपसमा छलफल गर्नुभयो । हामीले कागज बनाउँ भनेका थियौँ, दुवैले पर्दैन भनेर एउटै गाडीमा मिलेर फर्किनुभयो ।’, भोर्लेटार प्रहरी कार्यालयका सइ दीपक रानाले भने ।