
लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले अब राहात वितरण गर्दा श्रममा लगाउने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमण तथा नियन्त्रणका लागि लागु गरिएको लकडाउनबाट पीडित बनेका श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहातको ब्यवस्था गरिने भएको हो ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दोस्रो चरणको राहात श्रममा आधारित भएर वितरण गर्ने निर्णय गरिएको अध्यक्ष अर्जुन गुरुङले बताए ।
यसअघि पहिलो चरणमा गाउँपालिकाले १२ सय परिवारलाई राहात वितरण गरिसकेको छ ।
बैठकले गाउँपालिका भित्र रहेका सबै सरकारी तथा गैरसकारी संघसंस्था, बैंक तथा वित्तिय क्षेत्र, अत्याबस्यक सेवा प्रवाह गर्ने ब्यापार ब्यवसायले स्वास्थ्य सुरक्षाका लागि सावुनपानी, मास्क, स्यानिटाइजरको ब्यवस्था गर्नुपर्ने जनाएको छ ।
अत्याबस्यक बस्तुको ओसारपसारका लागि प्रयोग हुने सवारी साधनहरु आवस्यकताको आधारमा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा मात्र चल्न दिइने भएको छ ।
खाध्यवस्तुको नाउँमा सावरीसाधनले मानिसपनि ओसारपसार गरेको जनगुनासो बढेपछि नियन्त्रणका लागि वडाअध्यक्षहरुको सिफारिसमा मात्र चल्न दिने ब्यवस्था गरिएको उपाध्यक्ष होमबहादुर विकले बताए ।
गाउँपालिका भित्र रहेका खाध्यान्न, औषधी पसलको अनुगमन तथा लकडाउनलाई कडाइका साथ पालना गराउन अनुगमन बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।