मनाङमा कोरना संक्रमित, लमजुङमा होटल सिल !

हिमाली जिल्ला मनाङ पहिलोपटक एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।

कपिलवस्तुको बाणगंगा १४ स्थायी ठेगाना भई मनाङको चामेमा कार्यरत ५७ वर्षीय एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । ती कर्मचारी कपिलवस्तुबाट जेठ २१ गते मनाङ पुगेका थिए ।

चामेस्थित लोकप्रिय माविको क्वारेन्टाइनमा बसेका उनको जेठ २७ गते थ्रोट स्वाब लिइएको थियो । बिहीबार विहान उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्याका अनुसार उनलाई जिल्ला अस्पताल चामेको आइसोलेशेनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कपिलबस्तुबाट उनी जेठ २० लमजुङको बेंसीशहरस्थित पुष्पाञ्जली होटलमा बसेका थिए । छ । विहिबार नै सो होटल सिल गरी सञ्चालकसहित ४ जनाको थ्रोट स्वाब संकलन गरि पोखरा पठाइएको छ । संक्रमित ब्यक्ति बेंसीसहरबाट मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित एक होटलमा खाना खाएका थिए । सो होटल पनि सिल गरि सञ्चालकको थ्रोट स्वाब लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार एक जनामा कोरोना संक्रमण देखिएसंगै मनाङमा उच्च सतर्कता अपनाइएको छ । संक्रमितसंग सम्पर्क भएका तथा बास बसेका जिल्लाहरुको बारेमा सबै जानकारी संकलन गरिएको र सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ ।

मनाङबाट हालसम्म २३ जनाको थ्रोट स्वाब संकल गरी पोखरा पठाइएकोमा १ जनाको पोजेटिभ र ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १६ जनाको रिपोर्ट अझै नआएको पौडेलले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner