वडाअध्यक्ष भण्डारीको नेतृत्वमा मध्यपहाडीका मजदुरलाई रामधुलाई !

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका वडाअध्यक्ष रामचन्द्र भण्डारीको नेतृत्वमा मजदुरमाथी कुटपिट भएको छ ।

मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरुलाई वडाअध्यक्ष भण्डारीसहितका युवाहरुले जेठ २३ गते कुटपिट गरेका हुन् ।

वडाअध्यक्ष रामचन्द्र भण्डारीसहित शंकर विष्ट, राजकुमार कुंवर, थिरबाबु परियार लगायतले मध्यपहाडी लोकमार्ग काम गर्ने मजदुरलाई कुटेका स्थानीयले बताएका छन् । उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय भोर्लेटारमा उजुरी परेको छ ।

यस्तो थियो घटना :
मध्यपहाडी लोकमार्गमा काम गर्ने एक मजदुर विरामी भएपछि उपचारका लागि चालक विकास लामाले सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल लैजाँदै थिए । बाटोमा निर्माण कम्पनीका ऋषि घिमिरेसँगै रहेका वडाअध्यक्षसहितका युवाहरु भेट भए । चालक लामाले घिमिरेसँग विरामीको उपचारका लागि पैसा मागे । घिमिरेले सुरुमा २ हजार दिए । लामाले पुग्दैन भने । घिमिरेले फेरी ५ सय दिए । लामाले विरामी भेट्न अस्पताल आउनु भनेर गाडी लिएर हिंडे ।

तर, लामा विरामी लिएर अस्पतालको गेटमा मात्र के पुगेका थिए वडाअध्यक्ष भण्डारीसहितका युवाहरुले कुटपिट गर्न थाले । उनीहरुले विरामी मजदुरलाई कोरना लागेको भन्दै उपचार नगराउन अस्पतालका कर्मचारीलाई थर्काए । कुटाइ खाएका लामा मकैबारीमा लुक्दै भागे ।

त्यही बेला विरामी मजदुर भेट्न मध्यपहाडी सडकका सुपरभाइजर मनोज थापा अस्पताल पुगे । उनलाई पनि वडाअध्यक्षको टोलीले कुटपिट गरे ।

स्थानीय उत्रिए :
२३ गते साँझ मजदुरहरु कुटिएपछि २४ गते विहान नेटका स्थानीय मजदुरको पक्षमा उत्रिए । बालबालिकादेखी बृद्धबृद्धासम्मले विरोध गरे । कुटपिट गर्नेहरु पनि समूह बनाएर आए । तर, स्थानीय सबै मजदुरको पक्षमा भएकाले दोहोरो झडप हुन पाएन । वडाअध्यक्ष भण्डारीको समूह तर्किएर हिड्यो । स्थानीले नाराबाजी समेत गरे ।

२४ गते नै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय भोर्लेटारका सई दीपक रानाको नेतृत्वमा प्रहरी टोली नेटा आइपुग्यो । पीडित र पीडक दुवैलाई कार्यालय आउन निर्देशन दिएर टोली फर्कियो ।

२५ गते दिउसो इलाका प्रहरी कार्यालय भोर्लेटारमा दुवैपक्ष भेला भएका छन् । उनीहरुविच छलफल गराउने प्रयास भैरहेको सई रानाले बताए ।

पटक पटक धम्की र कुटपिट :
वडाअध्यक्ष भण्डारीले मध्यपहाडी लोकमार्गमा कार्यरत मजदुरहरुलाई पटक पटक धम्काउने र कुटपिट गर्ने गरेको पीडितहरुले बताएका छन् । उनले यसअघि नुवाकोट घर भई हालै नेटामै घरजाम गरेका दीपक श्रेष्ठलाई मारेर बेपत्ता बनाइदिन्छु भन्दै धम्काएका थिए । उनले पनि प्रहरीमा शान्तिसुरक्षा पाउँ भनि निवेदन दिएका छन् ।

गत बैशाख २५ गते तनहुँ घर भएका मजदुर मनबहादुर थापालाई पनि कुटपिट गरेका थिए । थापालाई तथानाम गर्दै कुटपिट गरेको भिडियो रेकर्ड आफुँहरुसँग सुरक्षित रहेको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा वडाअध्यक्ष भण्डारीसँग सम्पर्क गर्र्दा फोन उठेन । उनले प्रयोग गर्ने ९८५६०५५४१८ र ९८५६०७९०१० मा पटक पटक फोन गर्दा नउठेको हो । सम्पर्क भएपछि हामी उनको प्रतिक्रियालाई समेट्ने छौँ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner