भूकम्प पीडितसँग प्राविधिकको गिद्दे नजर, घुस लिँदा जागिर चट्

भुकम्प पिडितसँग गैरकानुनी रुपमा रकम असुली गरेको अरोपमा उजुरी परेपछि लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कार्यरत तीन प्राविधिकको जागिर खोसिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणवाट मस्र्याङ्दी गाउँपालिकामा खटिएका इन्जिनियर भुपेन्द्र कुमार मण्डल, सब इन्जिनियर राजकुमार गौतम र सब इन्जिनियर टिका प्रसाद गुरुङलाई जागिरवाट बर्खास्त गरिएको हो । उनीहरु २०७५ सालवाट लमजुङमा कार्यरत थिए ।

उनीहरु तीनै जनाले भुकम्प पिडितसँग घुस लिएको प्रमाणित भएपछि बर्खास्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण लमजुङका प्रमुख जगदिश मिश्रले बताए ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरा सेने गाउँका आठ भूकम्पपीडितसँग प्राविधिक भूपेन्द्रकुमार मण्डलसहितले रकम लिएको पाइएको हो । स्थानीय बुद्धिबहादुर गुरुङ, मनबहादुर गुरुङ, जीवन गुरुङ, हस्तबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, बाङ्ग्रे विक, खेमबहादुर गुरुङ र रसिराम गुरुङसँग प्राविधिक टोलीले प्रतिव्यक्ति ५०÷५० हजार रुपैयाँ गरी चार लाख रुपैयाँ लिएका थिए । सरकारले दिएको अनुदानबाट बनाएको घर मापदण्डअनुसारको नभएको भन्दै आफूहरूसँग रकम असुलेको पीडितहरूको गुनासो छ ।

पीडितले आफूहरूसँग प्राविधिक मण्डलले रकम असुलेको भन्दै उनीविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको ग्लोवल आईएममी बैंकमा गत असार २९ गते अन्तिम किस्ता निकाल्ने क्रममा प्राविधिकले रकम असुलेका हुन् ।

प्राविधिकले तपाईको घर मापदण्ड अनुसार भएको छैन्, त्यसैले ५० हजार दिनुपर्ने भनेपछि रकम दिएको बुद्धि बहादुर गुरुङले बताए । हामी गाउँका कसैलाई पनि प्राविधिकलाई रकम दिनुहुन्न भन्ने थाहा नपाएरै रकम दिएको उनले बताए ।

गाउँका पुर्ण क्षतिमा परेका सबै भुकम्प पिडितहरु रकम बैंकमा आएको खबर पाएसँगै बेसीशहर आएका थिए ।

पीडितहरु जिल्ला प्रशासन कार्यालय लमजुङमा उजुरीका लागि आउँदै गर्दा सब इन्जिनियर टिका प्रसाद गुरुङले बाटोमा रोकेर ४ लाख रुपियाँ रकम फिर्ता गरेका थिए ।

उजुरी दिनका लागि पिडित ८ जना मध्ये ५ जना बेसीशहर झर्दै गर्दा विन्दाबेसी गाउँमा आईपुग्दा एक जना बाइकमा आएर उजुरी नदिन दवाव दिएका थिए ।

प्राविधिक मण्डलले भने आफूले पैसा नलिएको दाबी गरेका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पीडितहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमा प्राविधिकले रकम लिएको भन्दै उजुरी दिएकाले अनुसन्धान भइरहेको बताए । ‘प्रहरी मार्फत प्राविधिकलाई झिकाएर अनुसन्धान भैरहेको छ, प्रमाणित भए कानुनबमोजिम कारबाही गरिनेछ,’ उनले भने ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner