भदौ १ गतेबाट खुल्यो घलेगाउँ होमस्टे

कोरोना त्रास तथा लकडाउनका कारण बन्द सार्क राष्ट्रको नमुना घलेगाउँ होमस्टे भदौ १ गतेबाट सञ्चालनमा आएको छ ।

स्वास्थ्य मापदण्ड पुरा गरेर होमस्टे सञ्चालनमा ल्याइएको ग्रामीण पर्यटन घलेगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

‘भदौ १ गतेबाट आन्तरिक पर्यटकका लागि खुला गरेका छौं’, घलेले भने, ‘देशको अबस्था हेरेर विस्तारै प्रदेश र देशभरका पर्यटकका लाखि खुला गर्दै जान्छौं ।’ उनका अनुसार गाउँमा आउने पर्यटकले भने तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।

होमस्टेमा आउने पर्यटकका लागि सावुनपानीले अनिबार्य हात धुनुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, ज्वरो जाँच गर्नुपर्ने, एउटा कोठामा २ जना मात्र बस्नुपर्ने जस्ता मापदण्ड बनाइएको छ ।

परिवार नै आएमा सबै जना एउटै घरमा राख्ने ब्यवस्था मिलाइने समितिले जनाएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रे जस्ता नृत्य र भीडभाड हुने कार्यक्रम सञ्चालन नगरिने समितिका सचिव उमल विकले बताए ।

पर्यटन समितिका सचिवालय सदस्य दीर्घराज घलेका अनसार पर्यटकका खानपिन तथा बसोबासका लागि यसअघि बनाइएको शुल्क नै यथावत राखिएको छ ।

लगडाउनको समयमा गाउँ आउने पर्यटकलाई ५० हजार र पर्यटक राख्ने घरलाई १० हजार जरिवानाको नियम बनाइएपछि चार महिना यता होमस्टे बन्द रहेको छ ।

समुन्द्री सतहबाट २ हजार एकसय मिटर उचाईमा रहेको घलेगाउँमा २०५७ देखि शुरु होमस्टे सञ्चालनमा आएको हो । १ सय २५ घरधुरी रहेको यहाँ ३८ घरमा पाउना राख्न सकिन्छ ।

लमजुङ हिमालको काखमा अवस्थित दृष्यावलोकनका लागि अद्धितीय स्थान मानिने घलेगाउँबाट माछापुच्छे«, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, बौद्ध हिमाल, डा. हर्क गुरुङ पीक लगायत दर्जनौं हिमश्रृंखला देख्न सकिन्छ । घाँटु, सेर्गा, कृष्णचरित्र, पच्यु, घ्याप्रिङ, लामा, लगायतका नाँचहरु यहाँका सांस्कृतिक विशेषताहरु हुन् । यहाँ आउने पर्यटकले उत्तरकन्या मन्दिर, गुरुङ संग्रालय, खेलमैदान चिया बगान, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सक्नेछन् ।

लमजुङ सदरमुकाम बेँसीशहरबाट घलेगाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा २ घण्टामा पुग्न सकिन्छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: