बेसीसहर चामे सडकमा दर्जनौं पहिरो, सडक अवरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर-चामे सडकको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरदेखि चामेसम्म दर्जन बढी ठाउँमा पहिरो गएको छ । 

बाढीले बेंसीसहर नगरपालिका-७ पुमाखोलामा कल्भडसहित सडक बगाएको छ । बेंसीसहर-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ ।  बुधबार साँझदेखि परेको वर्षाले बेंसीसहर -चामे सडकअन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ । कतिपय स्थानमा ग्याविन जालीसहति सडक भासिएको छ ।

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ । पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन् । प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाका अनुसार पहिरो पन्छाउने कार्य सुरु भएपनि पूर्णरुपमा सडक खुलाउन अझै दुई दिन लाग्नेछ ।

पहिरोमा बगेको पानीले थप समस्यामा पारेको छ । पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन् ।

पहिरो पन्छाउने दिर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सुर्यप्रकाश कतिलाले बताए । ‘सडक स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायलाई झकझकाएका छौं, सुनुवाइ नै हुँदैन,’ कतिलाले भने ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रण र सडक स्तरवृद्धिको दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय र सम्बन्धित मन्त्रालयलाई बारम्बार घचघचाएको बताए । 

पहिरोले घर पुरिए

बुधबार राती परेको वर्षाका कारण पहिरो चल्दा लमजुङका विभिन्न स्थानमा घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेंसीसहर नगरपालिका-६ चनौटेस्थित भण्डारी टोलमा २ घर पहिरोले क्षति पुगेको छ । भण्डारी टोलका मिना आले र महेन्द्र भण्डारीको घर पहिरोले भत्काएको डिएसपी गंगाबहादुर थापाले बताए । 

घर भत्किएपनि आलेको परिवार छिमेकीको घरमा र थापाको परिवार आमा समूहको भवनमा बसेका छन् । यसैगरी मस्र्याङ्दी गाउँपालिका-८ भुलभुलेमा पहिरोले २ घरमा क्षति पुर्‍याएको छ ।  गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार रणबहादुर तामाङ र सुकाजी कतिलाको घरमा पहिरोले क्षति पुगेको छ । गाउँपालिकाको विभिन्न स्थानमा झरेका पहिरोले स्थानीय सडकहरु अबरुद्ध बनेको छ ।  मस्र्याङ्दी-२ घनपोखराका अध्यक्ष चेतबहादुर गुरुङका अनुसार भाचेस्थित भदौरे गाउँमा पहिरोका कारण १५ घर जोखिममा परेको छ । 

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner