पहिरो पीडितलाई २४ घण्टा भित्रै राहात

लमजुङ । बेंसीसहर नगरपालिका ११ चिती तिलाहारमा बर्षाका कारण घर भत्किएको परिवारलाई जिल्ला प्रशासनले २४ घण्टा भित्रै राहात दिएको छ ।

घटना घटेको २४ घण्टा नवित्दै प्रशासनले घरको स्थलगत अनुगमन गरी राहत प्रदान गरेको हो । पहिरोले घर बगाउनुका साथै परिवार नै घाइते भएका जुद्धबहादुर थापाको घरमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतको टोलीले ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

शुक्रबार दिउँसो जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअले जुद्धबहादुरकी श्रीमति किरण थापालाई रकम हस्तान्तरण गरेका हुन् । बिहीबार बेलुका बर्षाले जुद्धबहादुरको घर भत्किएको थियो ।

राहत वितरणका लागि प्रजिअ शर्मासंगै, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, जिल्ला अनुसन्धान प्रमुख सुरेश तिवारीलगायतको टोली घटनास्थल पुगेको थियो । बिहीबार साँझ पहिरोले जुद्धबहादुरको घर बगाउँदा उनीसहित ६ जना घाइते भएका थिए ।

घर बगाउँदा ७० बर्षीय जुद्धबहादुर थापा, उनकी श्रीमती ५० बर्षीया किरण थापा, घरमा डेरा गरी बस्ने ५३ बर्षीय लुकबहादुर गुरुङ, उनको छोरा १९ बर्षीय अमृत गुरुङ र छोरी १२ बर्षीया सरस्वति गुरुङ र लुकबहादुरकोमा पाहुना हुन आएका ४० बर्षीया सुशिला गुरुङ घाइते भएका थिए ।

घरमा रहेको सुन, पैसा निकालिए पनि खाद्यान्न, लत्ताकपडा भने पहिरोले बगाएको छ । ५ वटा बाख्रा समेत पहिरोमा परेर मरेको स्थानीयले बताएका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner