पर्यटक राखे ५० हजार जरिवाना

लमजुङ । कोरना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न लागु गरिएको लगडाउनलाई जिल्लाका होमस्टे गाउँहरुले कडाइका साथ लागुगरेका छन् । गाउँमा पर्यटक आउन रोकेका छन् भने, पर्यटक राख्नेलाई जरिवानासमेत तोकेका छन् ।

क्व्होँलासोँथर गाउँपालिकामा रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । पर्यटन व्यवस्थापन समितिले होमस्टेमा पर्यटक राख्नेलाई २० देखि ५० हजार रुपियाँसम्म जरिवना गर्ने चेतावनी दिएको हो ।

लकडाउनका बेला सहरमा समयमा केही पर्यटक जिप र मोटरसाइकल चढेर घलेगाउँ आउने गरेको समितिले जनाएको छ । बुधबार गाउँ नजिकै आइपुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका थिए । उनीहरुलाई फिर्ता पठाएर गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न उर्दी गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

‘यस्तो लकडाउनको बेलापनि पर्यटक जीप चढेर आएका छन्’, घलेले भने, ‘यहाँ आउनेलाई तुरुन्तै फर्काएका छौं, अब गाउँमा आउने पर्यटकलाई नराख्न उर्दी जारी गरेका छौं ।’ २०५७ देखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे रहेको छ ।

यस्तै मस्र्याङ्दी गाउँपालिका–५ खानीगाउँमा रहेको रकगार्डेन होमस्टेमा पनि पर्यटक आउन नरोकिएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले अर्को सुचना जारी नभएसम्म पर्यटकलाई गाउँ नआउन अनुरोध गरेका छन् । जिल्लामा रहेका काउलेपानी, भुजुङ, सिउरुङ, राइनासलगायतका होमस्टेले पनि पर्यटक आउन रोक लगाएको बताएका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *