नेकपा मर्स्याङदी गाउँकमिटीले पल्लोटारी पहिरो पीडितलाई घरटहरा बनाइदिने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लमजुङको मर्स्याङदी गाउँपालिका–३ पल्लोटारीमा पहिरोबाट विस्थापितहरु बस्ने अस्थायी घरटहरा बनाउने भएको छ ।

नेकपा मस्र्याङ्दी गाउँ कमिटिले पहिरो विस्थापितका लागि कम्तिमा ६० घर निर्माण गर्ने निर्णय गरेको हो । घर निर्माणका लागि साउन ११ गतेबाट श्रमशिविर सुरु गरिने गाउँकमिटिका अध्यक्ष धनिसिंह तामाङले जानकारी दिए ।

‘पालिकाको नौ वटै वडा कमिटिको नेतृत्वमा पालैपालो पार्टी सदस्यहरु श्रमशिविरमा संलग्न गराउने निर्णय गरेका छौं’, तामाङले भने, ‘एउटा कमिटिले कम्तिमा ३ दिनसम्म २० जनालाई श्रमशिविरमा परिचालन गरि घरटहरा निर्माण गर्छ ।’

पल्लोटारीमा साउन ७ र ८ गते गएको पहिरोले २१ घर पूर्णरुपमा क्षति भएको छ । ८ घर आधा पुरिएको छ भने ५३ घर उच्च जोखिममा छन् । सो गाउँबाट ८२ घरपरिवार विस्थापित भएका छन् ।

नेकपा मस्र्याङ्दी गाउँकमिटिका सचिव दयासागर घिमिरेका अनुसार जस्तापाता, बाँस, काठपातबाट अस्थायी टहरा निर्माण गरिनेछ ।

जस्तापाता र किलाकाँटीका लागि पार्टी सदस्यहरु र जनवर्गिय संगठनसँग सहयोग संकलन गरिने घिमिरेले बताए ।

गाउँकमिटि सचिवालय सदस्य नन्दराज तामाङका अनुसार पहिरो पीडितका लागि वडा नं. १ लाई २५ हजार, वडा नं. २ लाई ५०, वडा नं. ३ लाई ७५, वडा नं. ४ लाई २५, वडा नं. ५ लाई २५, वडा नं. ६ लाई २५, वडा नं. ७ लाई ५०, वडा नं. ८ लाई ७५ र वडा नं. ९ कमिटिलाई ७५ हजारका दरले सहयोग संकलन गर्न जिम्मेवारी तोकिएको छ ।

यसैगरी निजामति कर्मचारी संगठनलाई २५ हजार र शिक्षक संगठनसँग एकलाख रुपियाँ सहयोगको अपेक्षा गरिएको तामाङले बताए ।

बैठकले विपद् ब्यवस्थापन समिति गठन गरि राहत वितरण तथा स्थान्तरणको कार्य प्रभावकारी बनाउन गाउँपालिकालाई अनुरोध गरेको छ । पहिरो पिडितका लागि स्थायी बसोबासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसंग जोडदार माग गरेको छ ।

बैठकले गाउँपालिका भित्र भएका बाढीपहिरोको निरिक्षण गर्न संघीय सांसद, राष्ट्रियसभा सदस्य, मुख्यमन्त्री, प्रदेश सभा सदस्य, पार्टी नेतृत्वलाई अनुरोध गरेको छ ।

यसैगरी वडा नं. १ मा भूकम्प पीडितसँग प्राविधिकहरुले घुस मागेको विषयको सत्यतथ्य छानविन गरि दोषीउपर कारबाहीका लागि माग समेत गरेको छ ।

गाउँकमिटिका अध्यक्ष धनसिंह तामाङको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटि सचिवाललय सदस्य नन्दराम विक, जिल्ला कमिटि सदस्य एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, जिल्ला कमिटि सदस्यहरु सुनिल सुनार, जितबहादुर गुरुङ, हिरालाल विश्वकर्मा, हिरादेवी घले, अजय तामाङ, होमरास तामाङलगायतको उपस्थिति रहेको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner