गण्डकी प्रदेशका ४ जिल्लामा सलह

गण्डकी प्रदेशका ४ जिल्लामा बाली नासक सलह कीरा देखा परेको छ। मंगलबार दिउँसोसम्म कास्की, लमजुङ, नवलपुर र स्याङ्जामा सलह कीरा देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 

पाल्पासँग सिमा जोडिएको स्याङ्जाको कालिगण्डकी गाउँपालिका हुँदै गण्डकी प्रदेशमा अहिलेसम्म अनुमानित ३ लाख सलह भित्रिसकेका छन्। मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालका अनुसार पाल्पा–स्याङ्जा सिमानाको रानी महलबाट सलह गण्डकी प्रदेश भित्रिएका छन्। 

एउटा झुण्डमा एक लाख सलह भित्रिएको मन्त्रालयको अनुमान छ। अधिकृत हमालका अनुसार सलह कीराको झुण्डले कालीगण्डकी गाउँपालिकाको सतुवामा वर, पिपल र आँपको पात खाएको छ। त्यसबाहेक गण्डकी प्रदेशमा भित्रिएको झुण्डले बालीमा खासै ठूलो क्षति नगरेको हमालले बताए। 

गण्डकी प्रदेशमा रहेका ३ झुण्डमध्ये २ वटा झुण्ड कालिगण्डकी गाउँपालिकाको जंगलमा बसेको छ। एउटा झुण्ड कालिगण्डकी नदीको तिरैतिर पर्वत पुगेको पाइएको छ। सलह ठूलो झुण्डमा देखिने भएकाले त्रसित नहुन उनले आग्रह गरे। 

अहिलेसम्म नवलपुरको विनयीत्रिवेणी गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका, गल्याङ नगरपालिकामा सलह देखा परेको छ। लमजुङको सुन्दरबजार नगरपालिका–९ फेदिकुनामा सोमबार सलहको एउटा समूह देखिएको थियो। 

नेपालमा गत शनिबार सलह प्रवेश गरेपछि नियन्त्रणको उपाय स्वरुप प्रदेश नम्बर ५ ले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको थियो। गण्डकीमा सलह कीरा प्रवेश गरेपछि स्याङ्जाका केही गाउँपालिकाले पनि सलहको मूल्य तोकेका छन्। 

कालिगण्डकी गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो १ सय र आँधीखोला गाउँपालिकाले ३ सय रूपैयाँ दिने निर्णय गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि एक किलो सलह नियन्त्रणमा लिनेलाई १५ रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner