कोरना जित्नेहरुले भने–बेसारपानीले निको भयौं, प्रधानमन्त्रीको आलोचना निरर्थक

प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि नबनेको अवस्थामा कोरोना संक्रमितका लागि हाम्रै भान्सामा प्रयोग हुने गरेको बेसार उपयोगी हुने बताएपछि सामाजिक सञ्जालमा एकथरी तप्काहरु आलोचना गर्नमा ब्यस्त छन् । बेसार, अदुवा, टिमुर, धनिया, गुर्जो जस्ता खानपानले रोग प्रतिरोधात्मक क्षमता बढाउने र चिकित्सकहरुले पनि यही भन्दै आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

तर, प्रधानमन्त्रीले बोलेको यो विषयलाई गलत सल्लाह दिएको भन्दै सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको छ । आलोचकहरु प्रधानमन्त्री ओलीलाई डाक्टर बन्न खोजेको भन्दै विभिन्न टिप्पणी गरिरहेका छन् ।

कोरोना संक्रमण जितेका व्यक्ति र परिवारले चाँही बेसार पानी पिएरै आफुँहरु ठीक भएको बताएका छन् । उनीहरुले फेसबुकमा लेख्दै प्रधानमन्त्रीको समर्थन गरेका छन् ।

पत्रकार वीरेन्द्र रमणले लेखेका छन्– ‘प्रधानमन्त्रीको जति मजाक उडाउ तर मैले त बेसार, अदुवा र दालचिनी खाएर नै कोरोनालाई जितेको छु ।’

वीरगन्जका पत्रकार सुरेश बिडारी लेख्छन्– ‘अदुवा, बेसार हालेर इलेक्ट्रिक जगमा पानी पिएकै हो, अनि कोरोना जितेकै हो । कसैलाई कुनै शंका ?’

कोरोना संक्रमित श्रीमतीलाई कोरोनामुक्त गराएका पूर्वसांसद अनन्त पौडेलले पनि प्रधानमन्त्रीको भनाइलाई समर्थन गरेका छन् ।

उनले लेखेका छन्– ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सन्दर्भमा अभिव्यक्त विचारहरुलाई उडाउने ए स्वनाम धन्य कथित बौद्धिकजनहरु मैले र मेरो परिवारले झेलेको छ कोरोनाको संक्रमण उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान, तातोपानी र बाफको सेवन र नियमित सरसफाई नै कोरोनाको उपचार हो । कुनै भ्याक्सिन र औषधी नबनेको अवस्थामा आफ्ना नागरिकहरुलाई कोरोना बाट बच्न प्रधानमन्त्रीले उपायहरु सुझाउँदा उफ्रने मानसिक रोगीहरुलाई कोरोना संक्रमण नहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।’

कोरना जित्नेलाई बेसारपानी औषधि सावित हुँदा, आलोचकलाई भने प्रधानमन्त्रीको सुझाव बेसार भन्दा तितो बन्नुको कुनै अर्थ नरहने विश्लेषकहरु बताउँछन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner