अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ?

दृष्टान्त १ः चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ । अस्पताल विकास समितिले शनिबार बेलुकादेखि अर्को सूचना जारी नगरिएसम्म सिल गर्ने निर्णय गरेको हो ।

दृष्टान्त २ः जाजरकोट जिल्ला अस्पताल भदौ ११ गते अनिश्चितकालका लागि सिल गरियो । त्यहाँ पनि चिकित्सकमा कोरोना पुष्टिपछि आकस्मिकबाहेकका सेवा ठप्प छ ।

दृष्टान्त ३ः कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले साउन अन्तिम साता प्रसूति कक्ष (लेबर रुम) सिल गर्‍यो । त्यहाँ चिकित्सक र नर्समा कोरोना देखिएको थियो । त्यसअघि अछामका दुई बिरामीमा संक्रमण पुष्टि भएलगत्तै जेठ अन्तिम साता पनि सर्जरी वार्ड सिल गरिएको थियो ।

०००

बिरामी वा स्वास्थ्यकर्मी संक्रमित भएपछि त्रसित हुँदै व्यवस्थापनले अस्पताल सिल गरेका केही दृष्टान्त हुन् यी । जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो । त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए । सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर ।’

सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ । तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन ।’ कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन । अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन् ।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्न नसक्दा अस्पताल सिल गर्ने बाध्यता हुने बताउँछन् । ‘कोभिड र ननकोभिडलाई उपचार गर्ने छुट्टै भवन वा ब्लकको व्यवस्था गर्न सकेको भए सिल गर्नुपर्ने अवस्था हुँदैनथ्यो’, डा प्याकुरेल भन्छन्, ‘एउटै भवनमा सबै खालका बिरामी उपचार गर्नुपर्ने भएकाले अन्यत्र नसरोस् भनेर नै सिल गरिएको हो । जनशक्ति पनि थोरै हुन्छ । संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुपर्ने भएपछि सिल गर्नैपर्ने अवस्था आउँछ ।’

कोरोना संक्रमित बेडमा सुत्दैमा अस्पतालै सिल गर्नु नपर्ने जनस्वास्थ्यविद् डा सुरेश तिवारीको तर्क छ । ‘कुनै बेडमा संक्रमित बसेपछि अस्पतालका सबै भित्ताभित्तामा कोरोना भाइरस रहिरहने होइन । अस्पताल वरिपरि कोरोना भाइरस रहेजस्तो अनिश्चितकालसम्म सिल गर्नु पर्दैन’, डा तिवारी भन्छन्, ‘उपचार गर्ने अस्पताल सिल गर्नु अनइथिकल प्राक्टिस हो । यसलाई निरुत्साहित गर्नुपर्छ ।’

कोरोना संक्रमितको उपचार गरिरहेको ह्याम्स अस्पतालका मेडिकल निर्देशक डा ज्योतेन्द्र शर्मा सुरक्षात्मक मापदण्ड पालना गर्ने हो भने अस्पताल सिल गर्नु नपर्ने बताउँछन् । ‘संक्रमित बढिरहेका छन् । उपचार गर्ने ठाउँ नै सिल गर्ने हो भने बिरामी कहाँ जाने ?’ उनी प्रश्न गर्छन् । करोडौं लगानी गरिएका र सयौं जनशक्ति भएका अस्पतालले पूर्वाधार एवं तालिमप्राप्त जनशक्ति भएकाले पनि अस्पताल सिल गर्नु नपरेको उनी बताउँछन्।

ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेका अनुसार त्यहाँ कोरोना संक्रमितको उपचार गर्ने ठाउँ अलग छ । लिफ्ट नै फरक छ । त्यसैले अस्पताल सिल गर्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन्।

भौतिक पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्न नसकेकै कारण अस्पताल सिल गर्नुपर्ने बाध्यता देखिएको छ । अस्पताल भर्ना भएका अन्य बिरामीलाई पनि संक्रमण नहोस् भनी सिल गर्ने गरिएको छ ।

अस्पतालमा कोभिड–१९ का संक्रमितलाई छुट्टै ब्लक बनाएर उपचार गर्नुपर्ने डा प्याकुरेलको सुझाव छ ‘छुट्टै स्थानमा आइसोलेसन वार्ड बनाउन स्थानीय निकायले सघाएको भए सिल गर्नुपर्ने अवस्था आउँदैनथ्यो’, उनी भन्छन् ।

नेपालको संविधानले पनि स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकमा राखेको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक रहेको उल्लेख छ । अस्पताल सिल गर्दा खोप लगाउन वा अन्य आधारभूत समस्या लिएर आएका बिरामीलाई अप्ठेरो परेको छ । डा प्याकुरेल भन्छन्, ‘एकातिर संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा जानुपर्ने होला । ज्यानको माया छ । अर्कोतर्फ बिरामीको मौलिक हकको कुरा छ । सामञ्जस्य मिलाउन बजेट, जनशक्ति र पूर्वाधारको व्यवस्था हुनुपर्छ ।’

अस्पताल सिल गर्ने प्रवृत्ति बढ्दै गएकोमा जनस्वास्थ्यविद् डा तिवारी चिन्ता व्यक्त गर्छन् । समस्याको प्रभावकारी ढंगले कसरी समाधान खोज्ने भन्दा पनि भाग्ने प्रवृत्तिसमेत देखियो । जवाफदेहिता भएन’, उनी भन्छन्, ‘पूर्वाधार र जनशक्ति पनि भएका ठूला अस्पतालले रोटेसनको व्यवस्था गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सकिन्छ ।’

डा तिवारीका अनुसार ८ घण्टामा डिसइन्फेक्सन गर्न सकिन्छ । डिसइन्फेक्सनपछि बिरामी भर्ना गरी उपचार थाल्न कुनै गाह्रो छैन । ‘अस्पताल सिल गर्नुमा प्राविधिकभन्दा पनि मनोसामाजिक समस्या देखिन्छ’, उनी भन्छन् । पीपीई, मास्क, स्यानिटाइजरलगायत सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था नभएको बेला स्वास्थ्यकर्मी उपचारमा हिच्किचाउन सक्ने डा प्याकुरेलको बुझाइ छ ।

संवैधानिक हक कार्यान्वयन र आधारभूत सेवा नियमित राख्न संघ, प्रदेश एवं स्थानीय तहले छुट्टै भवन तथा घर भाडामा लिनु उपयुक्त हुने उनको धारणा छ । अस्पताल व्यवस्थापनको सहयोग, स्वास्थ्यकर्मीको सजगताबाटै समस्या समाधान गर्न सकिने ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी बताउँछन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारको गाइडलाइन्स पालना गरेर काम गर्दा अस्पताल सिल गर्नु नपर्ने उनको भनाइ छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: